काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा एउटा उजुरी परेको छ। यद्यपि प्रस्तावित निर्वाचन आयुक्तद्वय गुरु वाग्ले र डा. राजीव सुब्बाविरुद्ध भने कुनै उजुरी परेको छैन।
संसदीय सुनुवाइ समिति सचिवालयका अनुसार प्रस्तावित प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तहरूविरुद्ध उजुरी दर्ताका लागि तोकिएको अवधिमा कुल दुईवटा उजुरी प्राप्त भएका छन्। तीमध्ये एउटा उजुरी मानबहादुर कार्कीसँग सम्बन्धित रहेको छ भने अर्को उजुरी सामान्य प्रकृतिको भएकाले कुनै व्यक्तिविशेषलाई लक्षित गरेको छैन।
गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा गुरु वाग्ले र पूर्वडीआईजी डा. राजीव सुब्बालाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको थियो। त्यसपछि संसदीय सुनुवाइ समितिले सार्वजनिक रूपमा उजुरी आह्वान गरेको थियो।
समितिको बैठकमा अब प्राप्त उजुरीमाथि प्रारम्भिक अध्ययन गरी सदस्यहरूलाई उपलब्ध गराइनेछ। साथै प्रस्तावित पदाधिकारीहरूले पेश गरेका कार्ययोजनामाथि पनि छलफल हुने कार्यसूची रहेको छ। त्यसपछि संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइनेछ।
संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्रै प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरूको नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुग्नेछ।