काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पुँजीबजार सुधारका लागि धितोपत्र व्यवसायी, नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का नेतृत्वसँग सोमबार सिंहदरबारमा छलफल गरेका छन्।
करिब डेढ घण्टा चलेको बैठकमा पुँजीबजारका समस्या, सुधारका उपाय तथा लगानीकर्ताको विश्वास अभिवृद्धिबारे विस्तृत छलफल भएको हो। छलफलमा सहभागी स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालका अनुसार प्रधानमन्त्रीले बजारमा फैलिएका हल्लाको पछि नलाग्न आग्रह गर्दै सरकार निजी क्षेत्र र पुँजीबजारप्रति सकारात्मक रहेको स्पष्ट पारे। साथै, पुँजीबजारमा देखिएका समस्या समाधानका लागि आवश्यक कदम तत्काल अघि बढाउन सेबोन र नेप्सेका अध्यक्षलाई निर्देशन दिएका छन्।
बैठकमा धितोपत्र व्यवसायीहरूले हालै बढाइएको पुँजीगत लाभकरप्रति असन्तुष्टि जनाउँदै नाफा–घाटा समायोजनपछि मात्रै कर लगाउने व्यवस्था गर्न माग गरेका छन्। उनीहरूले खुद नाफामा मात्र कर लगाउने व्यवस्था लागू गर्नुपर्ने, लाभकर गणना प्रणाली परिमार्जन गर्नुपर्ने तथा ‘इन्ट्राडे सर्ट सेल’को व्यवस्था लागू गर्न सुझाव दिएका छन्।
व्यवसायीहरूले नेपालको पुँजीबजारमा संस्थागत लगानीकर्ताको सहभागिता बढाउन सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी तथा बैंक–वित्तीय संस्थालाई सक्रिय रूपमा लगानी गर्न दिने नीति आवश्यक रहेको बताएका छन्। यस्ता संस्थाले आफ्नो कोषको कम्तीमा पाँच प्रतिशत रकम पुँजीबजारमा लगानी गर्न पाउने व्यवस्था गर्न पनि उनीहरूले सरकारसँग आग्रह गरेका छन्।
त्यसैगरी, गैरआवासीय नेपाली (एनआरएनए) र विदेशी संस्थागत लगानीकर्तालाई दोस्रो बजारमा लगानी गर्न दिने, आवश्यक नियमावली छिट्टै ल्याउने तथा उनीहरूलाई नेपाली लगानीकर्तासरह कर व्यवस्था लागू गर्नुपर्ने सुझाव पनि प्रस्तुत गरिएको छ।
छलफलमा नेपाल स्टक एक्सचेञ्जको पुनर्संरचना, रणनीतिक साझेदार भित्र्याउने, धितोपत्र कारोबारसम्बन्धी ऐन २०६४ परिमार्जन गर्ने, आईपीओ प्रणाली सुधार गर्ने, बुक बिल्डिङ प्रणाली प्रभावकारी बनाउने तथा दोस्रो बजारमा मूल्य निर्धारण प्रणाली (प्राइस डिस्कभरी) सुदृढ गर्नुपर्ने विषय पनि उठाइएको थियो।
यस्तै, सूचीकृत कम्पनीको शेयर कारोबारको पहिलो दिन सर्किट ब्रेकर लागू नगर्ने व्यवस्था, सर्ट सेल कारोबार कार्यान्वयन तथा आधुनिक कारोबार प्रणाली विकासका लागि आवश्यक नीतिगत सुधार छिट्टै अघि बढाउने प्रतिबद्धता सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टले व्यक्त गरेका छन्।