२०३० विश्वकपको अनौठो ढाँचा : उद्घाटन दक्षिण अमेरिकामा, मुख्य खेल युरोप–अफ्रिकामा

1k Shares

काठमाडौं । फिफा विश्वकपको १००औँ संस्करणका रूपमा आयोजना हुन लागेको सन् २०३० को विश्वकप इतिहासकै सबैभन्दा फरक ढाँचामा सञ्चालन हुनेछ। पहिलो पटक प्रतियोगिता तीन महादेशका छवटा देशमा आयोजना हुने भएको हो।

विश्वकपका उद्घाटन खेलहरू दक्षिण अमेरिकाका उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा हुनेछन्। त्यसपछि प्रतियोगिता युरोप र अफ्रिकातर्फ सर्दै स्पेन, पोर्चुगल र मोरक्कोमा अधिकांश खेलहरू सञ्चालन गरिनेछन् । यसरी छ देश र तीन महादेशमा आयोजना हुने यो पुरुष विश्वकप फुटबल इतिहासकै पहिलो संस्करण हुनेछ ।

फिफाले प्रतियोगिताको शतवार्षिकीलाई विशेष बनाउन सन् १९३० को पहिलो विश्वकप आयोजक उरुग्वेलाई उद्घाटन खेल आयोजना गर्ने अवसर दिएको छ । त्यस्तै पहिलो विश्वकपको उपविजेता अर्जेन्टिना र दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबोल) को मुख्यालय रहेको पाराग्वेले पनि एक–एक उद्घाटन खेल आयोजना गर्नेछन् ।

फिफाको प्रस्तावित तालिकाअनुसार जुन ८ र ९ मा दक्षिण अमेरिकामा शतवार्षिकी खेलहरू हुनेछन् । त्यसपछि जुन १३ र १४ मा मोरक्को, पोर्चुगल र स्पेनमा मुख्य उद्घाटन समारोह तथा खेलहरू सुरु हुनेछन् । प्रतियोगिताको फाइनल जुलाई २१ मा हुने अपेक्षा गरिएको भए पनि पूर्ण खेल तालिका भने फिफाले सार्वजनिक गरिसकेको छैन ।

आयोजक राष्ट्र भएकाले स्पेन, पोर्चुगल, मोरक्को, उरुग्वे, अर्जेन्टिना र पाराग्वेले स्वतः विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन्। बाँकी ४२ स्थान भने विभिन्न महादेशीय छनोट प्रतियोगिताबाट तय हुनेछन् ।

दक्षिण अमेरिकामा हुने उद्घाटन खेलमा सहभागी टोलीहरूलाई त्यसपछि युरोप वा अफ्रिका पुगेर समूह चरणका बाँकी खेल खेल्न अतिरिक्त यात्रा तथा तयारी समय उपलब्ध गराइने फिफाले जनाएको छ ।

यसैबीच फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपमा सहभागी टोलीको संख्या ४८ बाट ६४ पुर्‍याउने सम्भावनाबारे पनि छलफल हुने संकेत दिएका छन् । उनले ४८ टोलीको ढाँचा सफल भएको उल्लेख गर्दै थप राष्ट्रलाई विश्वकपमा सहभागी गराउँदा विश्व फुटबलको विकासमा सकारात्मक प्रभाव पर्ने बताएका छन् । यद्यपि २०३० को विश्वकप हालका लागि ४८ टोलीकै ढाँचामा आयोजना हुने तय भएको छ ।

फिफा विश्वकपको इतिहास सन् १९३० मा उरुग्वेबाट सुरु भएको थियो। पहिलो संस्करणमा १३ टोली सहभागी भएका थिए भने अहिले प्रतियोगिता विस्तार हुँदै ४८ टोलीसम्म पुगेको छ। २०३० को विश्वकपले विश्व फुटबलको एक शताब्दी पूरा भएको अवसरलाई ऐतिहासिक शैलीमा मनाउनेछ ।

फिफाले यसपछि हुने सन् २०३४ को विश्वकप भने साउदी अरेबियामा एकल आयोजकका रूपमा सञ्चालन गर्ने निर्णय गरिसकेको छ। त्यस प्रतियोगिताको विस्तृत तालिका भने अझै सार्वजनिक गरिएको छैन ।

सम्बन्धित समाचार