जग्गा व्यवस्थापनका लागि अन्तिम मौका, ६६ पालिकाका भूमिहीनलाई आवेदन आह्वान
1.3k
Shares
काठमाडौँ । सरकारले ६६ स्थानीय तहका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गा व्यवस्थापनका लागि अन्तिम पटक आवेदन दिन आग्रह गरेको छ।
राष्ट्रिय भूमि आयोगले यसअघि आवेदन दिन छुटेका योग्य लाभग्राहीलाई अन्तिम अवसर प्रदान गर्दै सम्बन्धित स्थानीय तहमा तोकिएको समयभित्र निवेदन दर्ता गर्न आग्रह गरेको हो। आयोगका अनुसार यो अभियान लगत संकलन र प्रमाणीकरणको अन्तिम चरणअन्तर्गत सञ्चालन गरिएको हो।
आयोगले आवेदन संकलनपछि स्थानीय तहमार्फत तथ्यांक प्रमाणीकरण, स्थलगत अनुगमन र आवश्यक प्रक्रिया पूरा गरी योग्य लाभग्राहीको पहिचान गरिने जनाएको छ। त्यसपछि कानुनबमोजिम जग्गा उपलब्ध गराउने वा व्यवस्थापन प्रक्रिया अगाडि बढाइनेछ।
सरकारले सम्बन्धित ६६ स्थानीय तहमा बसोबास गर्ने तर हालसम्म आवेदन दिन छुटेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई आवश्यक कागजातसहित सम्बन्धित स्थानीय तहमा सम्पर्क गरी आवेदन दिन अनुरोध गरेको छ।
आयोगले तोकिएको समयभित्र आवेदन नदिएपछि पुनः अवसर उपलब्ध नहुन सक्ने भएकाले योग्य व्यक्तिहरूलाई अन्तिम अवसरको सदुपयोग गर्न पनि आग्रह गरेको छ।