लिग–२ मा शीर्ष चारको लक्ष्यसहित नेपाल आज नामिबियासँग भिड्दै

2k Shares

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले मंगलबार नामिबियाविरुद्ध खेल्दै आफ्नो अभियान सुरु गर्दैछ। नेदरल्यान्ड्समा आयोजना हुने शृङ्खलामा नेपालले आयोजक नेदरल्यान्ड्स र नामिबियासँग दुई–दुई गरी कुल चार खेल खेल्नेछ।

विश्वकप लिग–२ को शीर्ष चारभित्र रहँदै आगामी चरणको सम्भावना बलियो बनाउने लक्ष्यसहित मैदान उत्रने नेपालका लागि यो शृङ्खला निकै महत्त्वपूर्ण मानिएको छ। निर्धारित तालिकाअनुसार नेपालले जुलाई २१ मा नामिबियासँग पहिलो खेल खेल्नेछ भने जुलाई २३ मा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि जुलाई २७ मा पुनः नामिबियासँग र जुलाई २९ मा नेदरल्यान्ड्ससँग अन्तिम खेल खेल्ने कार्यक्रम रहेको छ।

शृङ्खलाअघि नेपाली टोलीले बेलायतमा विशेष तयारी गरेको थियो। तयारीका क्रममा जर्सीविरुद्ध खेलिएका दुवै अभ्यास खेलमा जित हात पारेपछि नेपाली टोली उच्च मनोबलका साथ नेदरल्यान्ड्स पुगेको छ।

हालसम्म विश्वकप लिग–२ मा नेपालले २८ खेलबाट २४ अंक जोड्दै अंक तालिकाको पाँचौँ स्थान ओगटेको छ। नामिबिया २२ अंकसहित सातौँ स्थानमा रहेको छ भने आयोजक नेदरल्यान्ड्स ३२ अंकसहित तेस्रो स्थानमा छ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन्।

यस्तै, सन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्रीलाई रिजर्भ खेलाडीका रूपमा टोलीसँग राखिएको छ। नेपालले शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष चारको दौडलाई थप बलियो बनाउने लक्ष्य लिएको छ।

सम्बन्धित समाचार