घरजग्गा कारोबारबाट असारमा झन्डै १२ अर्ब राजस्व, वर्षकै उच्च सङ्कलन

1.3k Shares

काठमाडौँ । घरजग्गा कारोबारबाट गत असार महिनामा मात्रै ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ रुपैयाँ राजस्व सङ्कलन भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा एकै महिनामा सङ्कलन भएको यो सबैभन्दा ठूलो राजस्व हो।

विभागले सार्वजनिक गरेको वार्षिक विवरणअनुसार असारमा घरजग्गा कारोबार उल्लेख्य रूपमा बढेपछि राजस्व सङ्कलनले नयाँ उचाइ लिएको हो। विभागका अनुसार कोरोना महामारी र २०७२ सालको गोरखा भूकम्पपछिको अवधिमा पनि घरजग्गा कारोबारबाट यति धेरै राजस्व पहिलोपटक सङ्कलन भएको हो।

आर्थिक वर्ष २०८२/८३ को सुरुआती महिना साउनमा घरजग्गा कारोबारबाट तीन अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ रुपैयाँ राजस्व सङ्कलन भएको थियो। भदौमा यो घटेर तीन अर्ब १४ करोड सात लाख १६ हजार ३३५ रुपैयाँमा सीमित रह्यो।

असोज र कात्तिकमा राजस्व सङ्कलन थप घटेको विभागको तथ्याङ्कले देखाएको छ। असोजमा दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ रुपैयाँ र कात्तिकमा दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ रुपैयाँ राजस्व सङ्कलन भएको थियो।

त्यसपछि मङ्सिरदेखि कारोबारमा क्रमशः सुधार देखिएको थियो। मङ्सिरमा चार अर्ब ८४ करोड ८१ लाख ५४ हजार ८३२ रुपैयाँ, पुसमा पाँच अर्ब १७ करोड ३२ लाख १४ हजार २२२ रुपैयाँ, माघमा पाँच अर्ब ९९ लाख २४ हजार ५३६ रुपैयाँ तथा फागुनमा चार अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ।

यस्तै, चैतमा छ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७ रुपैयाँ, वैशाखमा छ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ रुपैयाँ र जेठमा पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ रुपैयाँ राजस्व सरकारको खातामा जम्मा भएको थियो।

विभागका अनुसार असार महिनामा कारोबार बढ्नुको मुख्य कारण साउन १ गतेदेखि घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर वृद्धि हुने बजेट व्यवस्था रहेको मानिएको छ।

कर बढ्नुअघि कारोबार टुंग्याउन सेवाग्राहीको चाप बढेकाले असारमा किनबेच उल्लेख्य रूपमा बढेको र त्यसको प्रत्यक्ष प्रभाव राजस्व सङ्कलनमा परेको विभागको विश्लेषण छ।

सम्बन्धित समाचार