पुँजी बजार र बीमा क्षेत्रबारे प्रधानमन्त्री शाहले आज सरोकारवालासँग छलफल गर्ने

1.5k Shares

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग आज छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मध्याह्न १२ बजे हुने छलफलमा पुँजी बजार र बीमा क्षेत्रसँग सम्बन्धित सरकारी निकाय तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहने जनाइएको छ।

छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल तथा नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ सहभागी हुने कार्यक्रम छ। यस्तै प्रिया राज रेग्मी र अम्बिका प्रसाद पौडेल पनि बैठकमा सहभागी हुने बताइएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय र बीमा क्षेत्रको सुदृढीकरण, आवश्यक नीतिगत सुधार तथा समग्र राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा सरोकारवालासँग सुझाव र धारणा आदानप्रदान गरिनेछ ।

सम्बन्धित समाचार