काठमाडौँ । साउन महिनाको पहिलो सोमबार भगवान् शिवको दर्शन तथा पूजा–आराधना गर्न गोकर्णेश्वर मन्दिरमा बिहानैदेखि व्रतालु तथा श्रद्धालुको घुइँचो लागेको छ।
हरेक वर्षझैँ यस वर्ष पनि साउनको पहिलो सोमबारका अवसरमा देशका विभिन्न स्थानबाट भक्तजन गोकर्णेश्वर मन्दिर पुगेका छन्। मन्दिर परिसरमा बिहानैदेखि दर्शनार्थीको लाम लागेको छ भने भक्तजनले जल, दूध, बेलपत्र, धतुरोलगायत सामग्री चढाएर भगवान् शिवको पूजा–आराधना गरिरहेका छन्।
हिन्दु धर्मावलम्बीका लागि साउन महिना भगवान् शिवको आराधनाका लागि विशेष महत्त्वपूर्ण मानिन्छ। नेपालमा सौरमासअनुसार साउनका प्रत्येक सोमबार व्रत बस्ने र शिवालयमा पुगेर पूजा–आराधना गर्ने परम्परा रहिआएको छ।
साउन महिनाभर देशभरका शिवालयमा भक्तजनको उल्लेख्य भीड लाग्ने गर्छ। विशेषगरी साउनको पहिलो सोमबार र अन्तिम सोमबार शिव मन्दिरहरूमा दर्शनार्थीको चाप बढी हुने गरेको छ।
श्रद्धालुले भगवान् शिवको पूजा–आराधना गरी सुख, शान्ति, समृद्धि तथा मनोकामना पूरा हुने विश्वासका साथ व्रत र दर्शन गर्ने परम्परा रहेको छ।


