आजदेखि सवारी लाइसेन्सका सबै सेवा पूर्णरूपमा अनलाइन

1.5k Shares

काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सबै सेवा पूर्णरूपमा अनलाइनमार्फत सञ्चालनमा ल्याएको छ। आवेदन, नवीकरण तथा राजस्व भुक्तानीलगायतका सबै प्रक्रिया अब अनलाइनबाटै गर्न सकिने विभागले जनाएको छ।

विभागका अनुसार अब सेवाग्राहीले स्वास्थ्य परीक्षणका लागि मात्र सम्बन्धित यातायात कार्यालयमा उपस्थित हुनुपर्नेछ। अन्य सबै प्रक्रिया अनलाइनमार्फत सम्पन्न गर्न सकिने व्यवस्था गरिएको छ।

अनलाइन सेवालाई थप व्यवस्थित बनाउन सातै प्रदेशका लागि छुट्टाछुट्टै वेब पोर्टल सञ्चालनमा ल्याइएको छ। सेवाग्राहीले आफ्नो प्रदेशअनुसारको पोर्टलमार्फत आवेदन दिन, नवीकरण गर्न तथा आवश्यक शुल्क भुक्तानी गर्न सक्नेछन्।

विभागका निर्देशक केशव खतिवडाका अनुसार राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा रहेको क्यूआर कोड स्क्यान गरेर आवेदन फाराममा व्यक्तिगत विवरण स्वतः भर्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ। नागरिक एपमा आबद्ध नभएका सेवाग्राहीले भने पहिलेकै प्रक्रियाअनुसार विवरण भरेर आवेदन दिन सक्नेछन्।

विभागले नयाँ प्रणाली लागू भएपछि फाराम भर्न तथा राजस्व बुझाउन बैंक र कार्यालयमा लामो लाइन बस्नुपर्ने बाध्यता हट्ने, सेवा प्रवाह छिटो, सहज र पारदर्शी बन्ने अपेक्षा गरेको छ।

सम्बन्धित समाचार