काठमाडौं । गत वैशाखदेखि हालसम्म देशभर भएका विभिन्न विपद्का घटनामा परेर १६६ जनाको मृत्यु भएको छ । यस अवधिमा तीन हजार ४३५ वटा विपद्का घटना दर्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार विपद्मा परेर ९८८ जना घाइते भएका छन् भने चार हजार ५३१ घरपरिवार प्रत्यक्ष प्रभावित भएका छन् ।
तथ्यांकअनुसार चार महिनाको अवधिमा सबैभन्दा बढी ९१४ वटा आगलागीका घटना भएका छन् । यसैगरी सर्पदंशका ५३५, पहिरोका ४९५, हुरीबतासका ४७८, चट्याङका २२९, डढेलोका १९१, जनावरको आक्रमणका १९०, बाढीका १७१, भारी वर्षाका १६६, लेक लाग्ने ५५, असिनाका चार, डुंगा पल्टिएको एक, हिउँपहिरोका दुई तथा अन्य चार वटा विपद्का घटना अभिलेख गरिएको छ ।
प्राधिकरणका अनुसार २ साउनदेखि ३ साउन बिहानसम्म मात्रै देशभर ५८ वटा विपद्का घटना भएका छन् । ती घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । उक्त अवधिमा देशका ४५ जिल्ला कुनै न कुनै प्रकारका विपद्बाट प्रभावित भएका प्राधिकरणले जनाएको छ ।