सेन्सर साइरनले घटायो बाँकेमा मानव–हात्ती द्वन्द्व, स्थानीय बासिन्दा भए सुरक्षित

1.4k Shares

जमुनाह । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जडान गरिएको पूर्वसूचनामा आधारित सेन्सर साइरन प्रणाली प्रभावकारी बन्दै गएको छ। साइरन जडान भएपछि जङ्गली हात्ती बस्तीमा पस्नुअघि नै स्थानीयले सूचना पाउने भएकाले मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा उल्लेखनीय सफलता मिलेको छ।

राप्तीसोनारी गाउँपालिका–९ बुचापुरकी शान्ति चौधरीका अनुसार केही समयअघिसम्म साँझ परेपछि हात्ती बस्ती पस्ने त्रासले रात बिताउन कठिन हुन्थ्यो। हात्तीले घर, अन्नबाली र खेतबारीमा क्षति पुर्‍याउनुका साथै मानवीय जोखिमसमेत बढाउने गरेको थियो। अहिले भने बस्ती नजिक जडान गरिएको सेन्सर साइरन बज्नासाथ स्थानीय सचेत हुने र एकजुट भएर हात्तीलाई सुरक्षित रूपमा बस्तीबाहिर फर्काउने गरेका छन्।

बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएका ओभरी, च्यामा, गोभारपुर र बुचापुर क्षेत्रमा वर्षौंदेखि मानव–हात्ती द्वन्द्व दोहोरिँदै आएको थियो। यही समस्या न्यूनीकरण गर्न जेडएसएल नेपालले पूर्वसूचनामा आधारित सेन्सर साइरन प्रणाली जडान गरेपछि स्थानीयको दैनिकी सुरक्षित र सहज बन्दै गएको छ।

जेडएसएल नेपालका फिल्ड प्रतिनिधि कमल रेग्मीका अनुसार हात्ती बस्तीतर्फ प्रवेश गर्नासाथ सेन्सर सक्रिय भई साइरन बज्छ, जसले स्थानीयलाई समयमै सतर्क गराउँछ। यसले नागरिकलाई सुरक्षित रूपमा संगठित भई हात्तीलाई बस्तीबाट फर्काउन सहयोग पुर्‍याइरहेको उहाँले बताउनुभयो। जेडएसएल नेपालले विभिन्न परियोजनामार्फत चार स्थानमा यस्ता पूर्वसूचना प्रणाली सञ्चालन गरिरहेको जनाएको छ।

बुचापुर हात्तीसार केन्द्रका शालिग्राम यादवले साइरन प्रणालीका कारण हात्ती बस्तीमा पस्नेबित्तिकै सूचना प्राप्त हुने भएकाले स्थानीयले आवश्यक सावधानी अपनाउन सकेको बताउनुभयो। उहाँका अनुसार यसले मानवीय क्षति रोक्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

स्थानीय राधिका सुनारले पनि साइरन जडान भएपछि आफूहरू धेरै सुरक्षित महसुस गर्न थालेको बताउनुभयो। पहिले हात्ती बस्तीमा पसिसकेपछि मात्र थाहा हुने भएकाले ठूलो क्षति व्यहोर्नुपर्थ्यो भने अहिले समयमै सूचना पाएपछि परिवार, अन्नबाली र सम्पत्ति जोगाउन सहज भएको उहाँको अनुभव छ ।

बाँके राष्ट्रिय निकुञ्जमा २५ भन्दा बढी जङ्गली हात्ती रहेको अनुमान छ। बस्ती वरिपरि तारबार गरिए पनि जंगलमा पर्याप्त आहारा नपाउँदा हात्तीहरू बेला–बेलामा बस्तीमा प्रवेश गर्ने गरेका छन्। यस्तो अवस्थामा पूर्वसूचनामा आधारित सेन्सर साइरन प्रणालीले सम्भावित दुर्घटना र क्षति न्यूनीकरण गर्दै मानव–हात्ती द्वन्द्व व्यवस्थापनको प्रभावकारी उपायका रूपमा काम गरिरहेको छ ।

 
 
 
सम्बन्धित समाचार