दूध उत्पादकलाई डीडीसीको सूचना : साउनभित्र सम्पर्क नगरे कारोबार नहुने
1.4k
Shares
काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी) ले आगामी आर्थिक वर्ष २०८३/८४ देखि दूध संकलन प्रणालीलाई थप व्यवस्थित, प्रविधिमैत्री, दिगो र अनुमानयोग्य बनाउने उद्देश्यका साथ दूध उत्पादक सहकारी संस्था तथा निजी डेरी फार्मलाई साउन मसान्तभित्र सम्पर्क गर्न आग्रह गरेको छ।
आइतबार सार्वजनिक गरिएको सूचनामा संस्थानले विगत ५७ वर्षदेखि दुग्ध उत्पादक सहकारी संस्था, निजी डेरी फार्म तथा किसानबाट दूध संकलन गर्दै आएको उल्लेख गर्दै सबै उत्पादक, सहकारी र सरोकारवालाप्रति आभार व्यक्त गरेको छ। साथै आगामी दिनमा पनि सहकार्यलाई अझ सुदृढ बनाउँदै दुग्ध क्षेत्रको विकासमा निरन्तर योगदान गर्ने प्रतिबद्धता जनाएको छ।
डीडीसीका अनुसार आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने नयाँ व्यवस्थाअनुसार संस्थानसँग नियमित रूपमा दूध खरिद–बिक्री गर्न इच्छुक सबै सहकारी संस्था तथा निजी डेरी फार्मले २०८३ साल साउन मसान्तभित्र आफूलाई पायक पर्ने डीडीसीको आयोजना, चिस्यान केन्द्र वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।
संस्थानले तोकिएको समयभित्र सम्पर्कमा नआउने सहकारी संस्था तथा निजी डेरी फार्मसँग त्यसपछि दूध खरिद–बिक्रीको कारोबार गर्न नसकिने स्पष्ट पारेको छ। यस व्यवस्थाले दूध संकलन तथा वितरण प्रणालीलाई अझ प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने संस्थानको विश्वास छ।
डीडीसीले सबै दूध उत्पादक, सहकारी संस्था र निजी डेरी फार्मलाई निर्धारित समयभित्र आवश्यक प्रक्रिया पूरा गरी सम्पर्कमा आउन आग्रह गर्दै नयाँ व्यवस्थालाई सफल बनाउन सहयोग गर्न अनुरोध गरेको छ।