काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार र आइतबार देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज राति पहाडी भूभागका साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ । साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
यस्तै, आइतबार पनि कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश, बागमती र गण्डकीका तराई क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाका अनुसार सोमबार सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान र बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
विभागले लगातारको वर्षासँगै बाढी, पहिरो, डुबान तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दा, यात्रु र सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।