व्यक्तिगत श्रम स्वीकृतिबाट ठगिएकालाई उजुरी दर्तामै कठिनाइ

1.5k Shares

काठमाडौं । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश गएका र ठगीमा परेको दाबी गर्दै आउने श्रमिकका उजुरी दर्ता प्रक्रियामा कडाइ गरेको छ। पछिल्लो समय यस्ता उजुरी दर्ता गर्नुअघि पर्याप्त र बलिया प्रमाण अनिवार्य रूपमा माग्न थालिएको विभागले जनाएको छ।

विभागका अनुसार व्यक्तिगत श्रम स्वीकृतिमार्फत विदेश गएका श्रमिकबाट ठगीसम्बन्धी उजुरी बढ्न थालेपछि उजुरीको प्रकृति, ठगीको आधार र उपलब्ध प्रमाणको मूल्यांकन गरेर मात्रै दर्ता गर्ने अभ्यास अपनाइएको हो। विभागकी महानिर्देशक मिरा आचार्यले प्रमाण पुगेका उजुरी दर्ता गर्न कुनै रोक नभएको तर अदालतमा टिक्न सक्ने आधारबिना अनुसन्धान अघि बढाउन नसकिने बताएकी छन्।

तर अधिवक्ता तथा वैदेशिक रोजगारसम्बन्धी कानुनका जानकारहरूले विभागको यो अभ्यासले वास्तविक पीडित न्यायको पहुँचबाट टाढा पुग्ने जोखिम बढाएको बताएका छन्। उनीहरूका अनुसार वैदेशिक रोजगार ऐनले यस प्रकारका उजुरीको अनुसन्धान गर्ने अधिकार विभागलाई नै दिएको हुँदा उजुरी नै दर्ता नगरी अन्य निकायमा पठाउनु कानुनी रूपमा पनि उपयुक्त होइन।

कानुनविद्हरूले विभागले व्यक्तिगत श्रम स्वीकृतिसम्बन्धी ठगीका मुद्दा प्रहरी वा अन्य निकायमा पठाउँदा भविष्यमा क्षेत्राधिकारको विवाद उत्पन्न भई मुद्दा नै खारेज हुन सक्ने र पीडितले क्षतिपूर्ति पाउने सम्भावना समेत कमजोर हुने चेतावनी दिएका छन्।

हाल सरकारले वैदेशिक रोजगार ऐन संशोधनको तयारीसमेत गरिरहेको छ। प्रस्तावित संशोधनमा व्यक्तिगत ठगीका मुद्दाको अनुसन्धान प्रहरीमार्फत गराउने व्यवस्था राखिएको छ, जसले श्रमिकलाई न्याय दिलाउने प्रक्रिया झन् जटिल बन्न सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

सम्बन्धित समाचार