तीनबुँदे माग राख्दै डा. गोविन्द केसीको चेतावनी, पूरा नभए फेरि सत्याग्रह

1.3k Shares

काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियानका अभियन्ता डा. गोविन्द केसीले सरकारसमक्ष तीनबुँदे माग अघि सार्दै ती माग समयमै सम्बोधन नभए पुनः सत्याग्रह (अनशन) सुरु गर्ने चेतावनी दिएका छन्। पछिल्लो समय चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित निर्णयहरूमा सरकार गम्भीर नभएको आरोप लगाउँदै उनले आन्दोलनको तयारी थालेका हुन्।

डा. केसीले चिकित्सा शिक्षा आयोगमा लामो समयदेखि रिक्त रहेका पदाधिकारीहरूलाई योग्यता, क्षमता र स्वार्थको द्वन्द्व नरहेका व्यक्तिबाट तत्काल नियुक्त गर्न माग गरेका छन्। साथै, विगतमा सरकारसँग भएका सहमति र चिकित्सा शिक्षा सुधारसम्बन्धी प्रतिबद्धताहरू पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने उनको अर्को माग छ।

त्यसैगरी, चिकित्सा शिक्षा ऐनको मर्मविपरीत हुने निर्णयहरू सच्याउन तथा सार्वजनिक स्वास्थ्य र चिकित्सा शिक्षाको गुणस्तर संरक्षण हुने गरी आवश्यक कदम चाल्न उनले सरकारलाई आग्रह गरेका छन्। उनका अनुसार यी मागहरू बेवास्ता गरिए पुनः सत्याग्रहमार्फत दबाब सिर्जना गरिनेछ।

डा. केसीले विगतमा पनि चिकित्सा शिक्षा सुधार, सरकारी मेडिकल कलेजको सुदृढीकरण र स्वास्थ्य सेवामा सुशासनको माग गर्दै पटक–पटक सत्याग्रह गर्दै आएका छन्।

सम्बन्धित समाचार