काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा, व्यवसाय र व्यावसायिक संस्थासँग संवादलाई निरन्तरता दिँदै शुक्रबार जुत्ता व्यवसायीसँग छलफल गर्ने भएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले फुटवेयर एसोसिएसनका अध्यक्ष सुरज बञ्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सल्लाहकार कालीदास गौतमलगायत पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको छ।
छलफलमा स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धन, बजार व्यवस्थापन, उत्पादनमा आत्मनिर्भरता अभिवृद्धि, उद्योगले भोगिरहेका चुनौती तथा नीतिगत सुधारका विषयमा केन्द्रित भएर विचारविमर्श हुने जनाइएको छ।
प्रधानमन्त्री शाहले पछिल्ला दिनमा विभिन्न पेशागत तथा व्यावसायिक क्षेत्रका प्रतिनिधिसँग नियमित संवाद गर्दै उनीहरूका समस्या, सुझाव र नीतिगत आवश्यकताबारे छलफल गर्दै आएका छन्।