पुलको रिडिजाइन स्वीकृत गराइदिने भन्दै ६ लाख घुस लिने इन्जिनियर पक्राउ

1.5k Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत छैटौँ तहका इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

आयोगका अनुसार पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिएको उजुरी प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको थियो ।

सोही सूचनाका आधारमा अख्तियारको टंगालस्थित केन्द्रीय कार्यालय र इटहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले कारबाही गरेको हो ।

टोलीले इन्जिनियर खड्कालाई सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा झापाको दमक नगरपालिका–१ स्थित एक खाजाघरबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् । पक्राउ परेका खड्कामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

सम्बन्धित समाचार