पर्यटन प्रवर्द्धनमा सरकार द्रुत गतिमा अघि बढेको छ : प्रधानमन्त्री

1.8k Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन र विस्तारका लागि सरकारले द्रुत गतिमा काम अघि बढाएको बताएका छन् । होटल व्यवसायीले उठाउँदै आएका नीतिगत तथा व्यावसायिक समस्यालाई समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा होटल एसोसिएसन नेपाल (हान) का पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारको बलियो साझेदारका रूपमा अघि बढ्न आग्रह गरे ।

उनले कानुनको पालना गर्दै व्यवसाय सञ्चालन गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत पर्यटन क्षेत्रको विकासका सम्भावनाबारे अध्ययन गर्न सुझाव दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको उपस्थितिमा भएको छलफलमा होटल व्यवसायीले नेपालका होटलहरू वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराएका थिए । हाल वार्षिक करिब १२ लाख पर्यटक मात्र नेपाल भित्रिने भएकाले पर्यटक संख्या वृद्धि गर्न सके रोजगारी सिर्जना र पर्यटन उद्योग विस्तारमा ठूलो योगदान पुग्ने उनीहरूको भनाइ थियो ।

व्यवसायीहरूले नेपालमा आरोग्य पर्यटन, गन्तव्य विवाह (डेस्टिनेसन वेडिङ) र सीमापार पर्यटन (क्रस–बोर्डर टुरिजम) को उल्लेखनीय सम्भावना रहेको औँल्याउँदै सरकारले आवश्यक नीतिगत सुधार गर्नुपर्ने माग गरेका छन् ।

उनीहरूले होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरह विद्युत् महसुलमा सहुलियत, ५० शय्यासम्मका होटलका लागि वातावरणीय अध्ययनसम्बन्धी व्यवस्था सहज बनाउने, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउने तथा नेपाल वायुसेवा निगमको सेवा सुधार गर्न आग्रह गरेका छन् ।

त्यसैगरी, विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनमा आवश्यक संशोधन, डेस्टिनेसन वेडिङका लागि गरगहना आयात प्रक्रिया सहज बनाउने तथा आरोग्य पर्यटनको प्रभावकारी अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि विशेष कार्यक्रम सञ्चालन गर्न पनि व्यवसायीहरूले सरकारसमक्ष प्रस्ताव राखेका छन् ।

सम्बन्धित समाचार