काठमाडौं । नेपाल एसीसी यू–१९ महिला प्रिमियर कप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। समूह चरणको आफ्नो खेलमा जापानलाई ९ विकेटले पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
जापानले दिएको ८७ रनको सामान्य लक्ष्य नेपालले ११.२ ओभरमै एक विकेटको क्षतिमा ९० रन बनाएर सहज रूपमा पूरा गर्यो।
नेपालको जितमा ओपनर सावित्री धामीले ३२ बलमा अविजित ४१ रनको उत्कृष्ट इनिङ्स खेलिन्। सना प्रवीनले १६ बलमा १८ रन बनाइन् भने सोनी पाख्रिन २२ बलमा अविजित १८ रन जोड्दै टोलीलाई जितसम्म पुर्याइन्। जापानका लागि ममता कश्वानले एक विकेट हात पारिन्।
यसअघि टस जितेर ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ८६ रन मात्रै बनाउन सक्यो। कप्तान बियान्का शिनोले ५७ बलमा सर्वाधिक ३८ रन बनाइन्। आयाने साकुराबा र किचो सुजुकीले समान १०–१० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका बलरले सुरुदेखि नै कसिलो प्रदर्शन गर्दै जापानी ब्याटिङलाई दबाबमा राखेका थिए। कृष्मा गुरुङले ३ ओभरमा ६ रन मात्रै खर्चेर २ विकेट लिइन्। रिया शर्माले ४ ओभरमा २३ रन खर्चेर २ विकेट हात पारिन् भने सोनी पाख्रिन र अनु कडायतले समान एक–एक विकेट लिए।
बलिङ र ब्याटिङ दुवै विभागमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले प्रभावशाली जितसहित प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको हो।