काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुर पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेकी छन्। उनी सिजाङ (तिब्बत) को लिङजी सहरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन बुधबार चीन गएकी हुन्।
उपसभामुख ठाकुरसँगै प्रतिनिधिमण्डलमा संघीय संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, उपसचिव विमला घिमिरे, उपसचिव नागेन्द्र चौधरी तथा कम्प्युटर प्रोग्रामर अनिशा ढकाल सहभागी रहेका छन्।
प्रतिनिधिमण्डलले असार ३१ देखि साउन १ गतेसम्म सञ्चालन हुने कार्यक्रममा सहभागिता जनाउनेछ। कार्यक्रमका क्रममा उपसभामुख ठाकुरले नेपाली प्रतिनिधिमण्डलका तर्फबाट सम्बोधन गर्ने कार्यसूची रहेको छ।
भ्रमणका क्रममा उपसभामुख ठाकुर र सिजाङस्थित लिङजी सहरका चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङबीच शिष्टाचार भेटवार्ता पनि हुने कार्यक्रम तय भएको छ।
प्रतिनिधिमण्डल साउन ४ गते स्वदेश फर्कने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ।