करार कर्मचारीको सिंहदरबारमै विद्रोह, अर्थ मन्त्रालय गेटमा धर्ना

1.1k Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीमाथि विभिन्न तहबाट आलोचना भइरहेका बेला सिंहदरबारभित्रै सरकारविरुद्ध करार कर्मचारीहरूले आन्दोलन थालेका छन्।

सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाएर आउटसोर्सिङ प्रणालीमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ वटै मन्त्रालयमा कार्यरत करार कर्मचारीहरूले मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयको मुख्य प्रवेशद्वारमा धर्ना तथा नाराजुलुस गरेका हुन्।

आन्दोलनमा सहभागी कर्मचारीहरूले प्रस्तावित निर्णयले लामो समयदेखि करार सेवामा कार्यरत हजारौँ कर्मचारीको रोजगारी जोखिममा पर्ने बताएका छन्। उनीहरूले सरकारलाई आउटसोर्सिङ प्रणाली लागू गर्ने निर्णय तत्काल फिर्ता लिन र हाल कार्यरत करार कर्मचारीहरूको सेवाको सुनिश्चितता गर्न माग गरेका छन्।

Contract-employees-protest-Nepal-1.jpg

प्रदर्शनका क्रममा कर्मचारीहरूले सरकारले रोजगारीको स्थायित्व सुनिश्चित गर्नुपर्ने, वर्षौँदेखि सेवा गर्दै आएका कर्मचारीलाई विस्थापित गर्ने नीति स्वीकार्य नहुने र निर्णय नसच्याइए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन्।

सिंहदरबारभित्रै भएको यस प्रदर्शनले सरकारको कर्मचारी व्यवस्थापनसम्बन्धी नीतिप्रति असन्तुष्टि चुलिँदै गएको संकेत गरेको छ। आन्दोलनरत कर्मचारीहरूले आफ्ना माग सम्बोधन नभएसम्म दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।

सम्बन्धित समाचार