४४ जिल्लामा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

1.5k Shares

काठमाडौं । देशका ४४ जिल्लामा मंगलबार आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाहीलगायत जिल्लाबाट बग्ने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।

यस्तै गोरखा, लमजुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया, कैलालीलगायत जिल्लाका साना नदी तथा खोलामा पनि पानीको बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको विभागले जनाएको छ।

त्यसैगरी चितवन, तनहुँ, कास्की, स्याङ्जा र सुर्खेत जिल्लाका साना नदी तथा खोलामा पनि आकस्मिक बाढी आउने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दा र यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

बाढीविद् विनोद पराजुलीका अनुसार बुधबार र बिहीबार सातै प्रदेशका साना नदी तथा खोलाको बहाव अझ बढ्न सक्ने सम्भावना रहेको छ। उनले नदी किनार, तटीय बस्ती तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यक सुरक्षा उपाय अपनाउन अनुरोध गरेका छन्।

सम्बन्धित समाचार