आत्मदाहको प्रयास गरेका सर्लाहीका विवेश मण्डलको उपचारकै क्रममा निधन
1.6k
Shares
काठमाडौं । आत्मदाहको प्रयास गरेका सर्लाहीका विवेश मण्डलको उपचारका क्रममा निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत मण्डलको गएराति करिब २ बजे निधन भएको अस्पताल प्रशासनले जनाएको छ ।
मण्डलले गत शुक्रबार आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका थिए। घटनापछि उनलाई तत्काल हेलिकोप्टरमार्फत काठमाडौं ल्याई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार थालिएको थियो। चिकित्सकहरूले उनको उपचारका लागि निरन्तर प्रयास गरे पनि उनलाई बचाउन सफल हुन सकेनन् ।
उनको निधनप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले गहिरो दुःख व्यक्त गरेका छन्। उनले मण्डलको ज्यान जोगाउन आफू, सरकार र चिकित्सकहरूको तर्फबाट कुनै कसर बाँकी नराखिएको बताए ।
सामाजिक सञ्जालमार्फत सिंहले भने, ‘विवेश मण्डललाई बचाउन मेरो व्यक्तिगत, सरकार र डाक्टरहरूले कुनै कसर बाँकी राखेका थिएनन् । अथक प्रयासका बाबजुद उनको निधन भएको छ। उनको दुःखद र असामयिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’
मण्डलले आत्मदाहको प्रयास गर्नुको कारणबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।