पहिलो एकदिवसीयमा नेपालको दमदार सुरुआत, जर्सी ८१ रनले पराजित

1.3k Shares

काठमाडौँ । ओपनर कुशल भुर्तेलको शानदार शतकीय इनिङ्स र तीव्र गतिका बलर हेमन्त धामीको उत्कृष्ट बलिङको मद्दतमा नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल ८१ रनले जितेको छ।

जर्सी भ्रमणमा रहेको नेपाली टोलीले दिएको २५१ रनको लक्ष्य पछ्याएको घरेलु टोली जर्सी ४१ ओभरमा १६९ रनमै अलआउट भयो। जर्सीका लागि चार्ली ब्रेननले ८२ रनको संघर्षपूर्ण इनिङ्स खेले पनि अन्य ब्याट्सम्यानले साथ दिन नसक्दा टोली हारबाट जोगिन सकेन।

नेपालका लागि हेमन्त धामी सर्वाधिक सफल बलर बने। उनले ४ विकेट लिँदै जर्सीको ब्याटिङ लाइनअप ध्वस्त पारे। आरिफ शेखले ३ विकेट लिए भने करण केसीले २ र सन्दीप लामिछानेले १ विकेट आफ्नो नाममा लेखाए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५० रन बनाएको थियो। नेपालको इनिङ्समा ओपनर कुशल भुर्तेलले १०५ रनको उत्कृष्ट शतकीय पारी खेले। भीम सार्कीले ३९ रनको योगदान दिए भने नवौँ नम्बरमा ब्याटिङ गर्न आएका हेमन्त धामीले अविजित १९ रन जोड्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्‍याए।

अन्य ब्याट्सम्यानमध्ये आसिफ शेखले १६, कप्तान रोहित पौडेलले १५, आरिफ शेखले ११ तथा ईशान पाण्डेले १ रन बनाए।

यस जितसँगै दुई खेलको एकदिवसीय शृंखलामा नेपालले १–० को अग्रता बनाएको छ। अब नेपाल र जर्सीबीच दोस्रो तथा अन्तिम एकदिवसीय खेल बुधबार हुनेछ।

सम्बन्धित समाचार