काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तरतर्फ, नेपालको तराई क्षेत्र नजिक रहेकाले वर्षाको प्रभाव अझै कायम रहने देखिएको हो।
हाल कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
मंगलबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने अनुमान छ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी तथा तराईका धेरै स्थान, मधेश प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागको पूर्वानुमान छ।
विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, बागमती र गण्डकीका तराई क्षेत्र र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि देशभर बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा तथा हिमपातको सम्भावना छ। साथै मधेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराईका केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ। रातिको समयमा कोशी प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने चेतावनी पनि विभागले दिएको छ।
विभागले वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम बढ्न सक्ने भन्दै नदी–खोला आसपासका बासिन्दा, यात्रु तथा स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले विभागका पछिल्ला मौसम अपडेट नियमित रूपमा पालना गर्न अनुरोध गरिएको छ।