आन्दोलनको मर्म बिर्सियो सरकार’ भन्दै जेनजीको असन्तुष्टि

1.5k Shares

काठमाडौं । जेनजी आन्दोलनबाट स्थापित भएको वर्तमान सरकारले आन्दोलनको मूल मर्म र नागरिकका अपेक्षाभन्दा शक्ति प्रदर्शन तथा दमनको बाटो रोज्न थालेको भन्दै आन्दोलनमा सक्रिय युवाहरूले गम्भीर असन्तुष्टि जनाएका छन् ।

पछिल्ला दिनमा आन्दोलनका अगुवामाथि पक्राउ, धरपकड र निगरानी बढेको भन्दै उनीहरूले सरकार लोकतान्त्रिक मूल्यबाट विचलित भएको आरोप लगाएका छन् । कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा पुगेका जेनजी अभियन्ता माजिद अन्सारी, सरिस्मा थापा र नेल्सन घतानीलाई प्रहरीले नियन्त्रणमा लिएपछि विवाद थप चर्किएको हो ।

पक्राउका क्रममा माजिद अन्सारी घाइते भएका थिए र हाल उनको उपचार भइरहेको छ । उपचाररत अवस्थामासमेत प्रहरी निगरानी जारी राखिएको आरोपपछि नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठेको छ ।

जेनजी अभियन्ताहरूका अनुसार सरकारमा पुगेका केही युवा नेतृत्वले आन्दोलनको भावना बिर्सँदै सडकमा रहेका आफ्नै सहयात्रीमाथि कठोर व्यवहार गर्न थालेका छन् । उनीहरूले सरकार रचनात्मक आलोचना स्वीकार गर्नुको सट्टा आलोचकलाई दबाउने प्रयासमा लागेको दाबी गरेका छन् ।

अभियन्ता अर्नब चौधरीले आन्दोलनकारीको दायित्व सरकारका कमजोरी औँल्याउनु भएको बताउँदै स्वतन्त्र सञ्चारमाध्यमलाई तर्साउने, अभियन्तालाई पक्राउ गर्ने र आलोचनाप्रति असहिष्णु बन्ने प्रवृत्तिले लोकतान्त्रिक संस्कार कमजोर बनाउने चेतावनी दिएका छन् ।

जेनजी अभियन्ता मोनिका निरौलाले आन्दोलनका क्रममा भएका सहमति र प्रतिबद्धता कार्यान्वयनमा सरकार गम्भीर नदेखिएको आरोप लगाइन्। नागरिकले शान्तिपूर्ण रूपमा आवाज उठाउँदा पनि दमन, कुटपिट र कानुनी दबाबको सामना गर्नुपरेको भन्दै उनले यसले युवापुस्ताप्रतिको विश्वास कमजोर पार्ने बताइन् ।

यस्तै, अभियन्ता युजन राजभण्डारीले सरकारले लोकप्रियता हासिल गर्ने नाममा प्रक्रिया र संस्थागत मूल्यलाई बेवास्ता गरिरहेको टिप्पणी गरेका छन् । उनका अनुसार जेनजी आन्दोलनको मुख्य उद्देश्य संस्थालाई बलियो बनाउनु र सुशासन स्थापित गर्नु थियो, तर अहिले सरकार त्यसको विपरीत दिशातर्फ उन्मुख भएको देखिएको छ ।

पछिल्ला घटनाक्रमले जेनजी आन्दोलनभित्रै सरकारमा सहभागी समूह र सडकमा सक्रिय अभियन्ताबीच दृष्टिकोणको स्पष्ट विभाजन देखिएको विश्लेषण गरिएको छ । आन्दोलनका अगुवाहरूले सरकारलाई दमनको बाटो त्यागेर संवाद, पारदर्शिता र लोकतान्त्रिक प्रक्रियालाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

सम्बन्धित समाचार