काठमाडौं । नेपालको विदेशी विनिमय (विदेशी मुद्रा) सञ्चिति चालु आर्थिक वर्षको पहिलो ११ महिनामा उल्लेख्य रूपमा बढेर ३७ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार जेठ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ३७ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको हो। यो अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा ४०.२ प्रतिशतले बढी हो।
अमेरिकी डलरका आधारमा पनि विदेशी मुद्रा सञ्चिति २८.२ प्रतिशतले वृद्धि भई करिब २७ अर्ब ३६ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ।
सञ्चित विदेशी मुद्राले वस्तु तथा सेवा आयात धान्ने क्षमता पनि थप बलियो बनेको छ। जेठ मसान्तसम्मको सञ्चितिले करिब १८ महिनाको वस्तु आयात र १५ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको राष्ट्र बैंकको तथ्यांक छ।
राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये अधिकांश हिस्सा राष्ट्र बैंकसँग रहेको छ भने बाँकी वाणिज्य बैंकहरूसँग रहेको छ। रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि, पर्यटन आयमा सुधार तथा बाह्य क्षेत्रको सन्तुलित अवस्थाले विदेशी मुद्रा सञ्चिति बढ्न सहयोग पुगेको विश्लेषण गरिएको छ।