सातै प्रदेशमा बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन

2k Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न बर्न (जलन) उपचार केन्द्र स्थापना गर्ने योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन्।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलमा उनले प्रमुख सरकारी अस्पतालका बर्न वार्डलाई पनि सुदृढ बनाउन आवश्यक योजना अघि बढाउन स्वास्थ्य क्षेत्रका निकायलाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय गर्नुपर्नेमा जोड दिए।

उनले गुणस्तरीय, प्रभावकारी र नागरिकमैत्री स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालको सरसफाइ, सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिन पनि आग्रह गरे।

प्रधानमन्त्री शाहले विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालले ओपिडी सेवाको कम्तीमा १० प्रतिशत सेवा सहुलियत दरमा उपलब्ध गराउने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिए।

उनले एउटा स्वास्थ्य संस्थाले विकास गरेका असल अभ्यासलाई अन्य संस्थामा पनि विस्तार गर्न सुझाव दिँदै प्रतिष्ठानका नाममा रहेका जग्गा अतिक्रमणका समस्या सम्बन्धित निकायसँग समन्वय गरेर कानुनी रूपमा समाधान गरिने बताए।

छलफलका क्रममा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर सुधार, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, अनुसन्धान प्रवर्द्धन, पूर्वाधार विकास तथा स्वास्थ्य सेवाको डिजिटल रूपान्तरणबारे आफ्ना सुझाव प्रस्तुत गरेका थिए।

उनीहरूले अस्पताल सूचना व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयन र केही प्रतिष्ठानको जग्गा अतिक्रमणले संस्थागत विकासमा परेको असरबारे पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

सम्बन्धित समाचार