देशभर वर्षा सक्रिय, आज राति अझै भारी पर्ने चेतावनी

1.4k Shares

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा सोमबार बिहानदेखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानबाहेक अन्य अधिकांश प्रदेशमा व्यापक वर्षा भइरहेको छ।

विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार केही क्षेत्रमा भारीदेखि अति भारी वर्षा भएको छ भने अन्य स्थानमा मध्यम वर्षा भइरहेको छ। उहाँले वर्षा गराउने मौसमी प्रणाली रातिको समयमा अझ सक्रिय हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ।

विभागको पछिल्लो २४ घण्टाको अभिलेखअनुसार मकवानपुरगढी र म्याग्दीमा सबैभन्दा धेरै समान १२१ मिलिमिटर वर्षा मापन गरिएको छ। त्यसपछि सुनसरीमा ११७ मिलिमिटर र उदयपुरमा १०६ मिलिमिटर वर्षा भएको छ, जसलाई अति भारी वर्षाको श्रेणीमा राखिएको विभागले जनाएको छ।

काठमाडौंको चन्द्रागिरि वर्षामापन केन्द्रमा ९३.६ मिलिमिटर वर्षा रेकर्ड भएको छ। त्यसैगरी सिन्धुलीमा ९३, झापामा ८४, चितवनमा ८४, नवलपुरमा ८५, पाल्पामा ९८, सिन्धुपाल्चोकमा ६८, ताप्लेजुङमा ६४, सोलुखुम्बुमा ५८, सङ्खुवासभामा ५२, बाँकेमा ५७ र कैलालीमा ५७ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।

हाल काठमाडौं, उदयपुर, सिन्धुपाल्चोक, चितवन, लमजुङ, खोटाङ, बाग्लुङ, पर्वतलगायत जिल्लामा वर्षा जारी रहेको छ।

विभागका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ। साथै मनसुनको न्यून चापीय रेखा औसत अवस्थाभन्दा केही उत्तरतर्फ सर्दै नेपालको तराई भूभाग नजिक रहेकाले वर्षा प्रणाली थप सक्रिय बनेको हो।

विभागले आज राति कोशी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको जनाएको छ। लगातार वर्षासँगै नदी–खोला, बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

सम्बन्धित समाचार