कालोबजारी र कृत्रिम अभाव सह्य हुँदैन : कृषिमन्त्री चौधरी

2.4k Shares

काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले किसानको हितविपरीत हुने कुनै पनि गतिविधिप्रति सरकारले शून्य सहनशीलताको नीति अपनाएको बताउनुभएको छ। कृत्रिम अभाव सिर्जना गर्ने, कृषि सामग्री लुकाउने, कालोबजारी गर्ने तथा कृत्रिम मूल्यवृद्धि गर्ने कार्यमा संलग्नलाई कानुनबमोजिम कडा कारबाही गरिने उहाँले चेतावनी दिनुभएको छ।

शनिबार चितवनमा कृषि सामग्रीको उपलब्धता तथा बजार अवस्थाको अनुगमन गर्दै किसानसँग प्रत्यक्ष संवाद गर्नुभएकी मन्त्री चौधरीले किसान, उपभोक्ता तथा सर्वसाधारणलाई कुनै समस्या वा अनियमितता देखिए मन्त्रालयको हटलाइन नम्बरमा तत्काल जानकारी गराउन आग्रह गर्नुभयो।

उहाँले मन्त्रालयमा उजुरी प्राप्त हुनासाथ सम्बन्धित निकाय परिचालन गरी तत्काल अनुगमन गरिने र दोषी ठहरिएका व्यक्ति वा व्यवसायीमाथि कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पार्नुभयो।

मन्त्री चौधरीले कृषि उत्पादन वृद्धि गर्न आवश्यक मल, बिउ, विषादीलगायत कृषि सामग्री समयमै उपलब्ध गराउने, कालोबजारी नियन्त्रण गर्ने तथा कृषिक्षेत्रका समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो।

चितवनका विभिन्न गाउँ तथा कृषिक्षेत्रको स्थलगत अनुगमनका क्रममा उहाँले धान रोपाइँको अवस्था, मल तथा बिउको उपलब्धता, उत्पादन लागत, सिँचाइ, बजार व्यवस्थापन र किसानले भोगिरहेका समस्याबारे जानकारी लिनुभयो। साथै बाली लगाउने मुख्य समयमा किसानले आवश्यक कृषि सामग्री सहज रूपमा पाइरहेका छन् वा छैनन् भन्ने विषयमा पनि अनुगमन गर्नुभयो।

अनुगमनका क्रममा किसानले राखेका गुनासा र सुझाव सुनेपछि मन्त्री चौधरीले सम्बन्धित सरकारी निकायका अधिकारीसँग टेलिफोनमार्फत समन्वय गर्दै देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार