मनसुनको प्रभाव बढ्यो, बाढी–पहिरोको जोखिम उच्च

2.7k Shares

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहँदा सोमबार विभिन्न प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेकाले वर्षाको गतिविधि बढ्ने जनाएको हो।

हाल देशभर अधिकांश स्थानमा बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा, मधेश प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका केही स्थान तथा मधेशसहित ती प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

रातिको समयमा पनि मनसुनको प्रभाव कायम रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहने तथा कर्णाली र सुदूरपश्चिममा सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। कोशी र बागमतीका हिमाली क्षेत्रमा धेरै स्थानमा तथा गण्डकीका केही हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

राति विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेश प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। साथै, कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने चेतावनी दिइएको छ।

विभागले सक्रिय मनसुनका कारण गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय लगायतका विपद्को जोखिम बढ्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ।

सम्बन्धित समाचार