विदेश पठाउने बहानामा लाखौँ रुपैयाँ ठगी, पाँच जना पक्राउ

1k Shares

काठमाडौँ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेमा सिन्धुलीका कुनसाङ लामा (३६), बर्दियाका धनबहादुर शाही (४२), ताप्लेजुङका उमेश लिम्बु, तनहुँकी सचिता परियार (२१) र खोटाङका निरोज राई (४१) रहेका छन्।

प्रहरीका अनुसार कुनसाङले यूएई पठाइदिने भन्दै एक पीडितबाट २ लाख ७ हजार रुपैयाँ, धनबहादुरले जर्जिया पठाइदिने भन्दै २ लाख ९५ हजार रुपैयाँ, उमेशले बेलारुस पठाइदिने भन्दै ५ लाख रुपैयाँ, सचिताले रोमानिया पठाइदिने भन्दै १ लाख ५० हजार रुपैयाँ तथा निरोजले टर्की पठाइदिने भन्दै दुई पीडितबाट ७ लाख ९० हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो। कुनसाङलाई बुढानीलकण्ठ–२, धनबहादुरलाई तारकेश्वर–८, उमेशलाई टोखा–५, सचितालाई काठमाडौं महानगरपालिका–३ र निरोजलाई काठमाडौं महानगरपालिका–४ बाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कुनसाङ र धनबहादुर बिहीबार तथा उमेश, सचिता र निरोज शुक्रबार पक्राउ परेका हुन्। पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

सम्बन्धित समाचार