विदेशी मुद्रा विनिमय दरमा नयाँ रेकर्ड, युरो र पाउन्ड पनि महँगिए
1.7k
Shares
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर, युरो र बेलायती पाउन्ड स्टर्लिङसहित अधिकांश प्रमुख विदेशी मुद्राको विनिमय दर हालसम्मकै उच्च स्तरमा पुगेको छ।
राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार एक अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा कायम भएको छ।
त्यस्तै, एक युरोको खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा तोकिएको छ भने एक बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०४ रुपैयाँ १५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ९५ पैसा कायम गरिएको छ।
खाडी मुलुकका मुद्रामध्ये एक कतारी रियालको बिक्रीदर ४१ रुपैयाँ ९४ पैसा र एक साउदी रियालको बिक्रीदर ४० रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ। यस्तै, एक मलेसियन रिङ्गितको बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा रहेको छ।
उता, भारतीय रुपैयाँ १०० को विनिमय दर भने स्थिर रहेको छ। राष्ट्र बैंकका अनुसार यसको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। राष्ट्र बैंकले वाणिज्य बैंकहरूले निर्धारण गर्ने खुला बजार विनिमय दर आधिकारिक दरभन्दा केही फरक हुन सक्ने जनाएको छ।