महिलाको सामूहिक मेहनतले जन्मियो ‘चन्द्रसूर्य’ अर्गानिक बेसार उद्योग

1.4k Shares

नारायणगढ । चितवनको भरतपुर महानगरपालिका–२९ भतेरीका महिलाले आमा समूहबाट सुरु गरेको सानो बचत अभियानलाई आधुनिक कृषि प्रशोधन उद्योगमा रूपान्तरण गरेका छन्। सफल सामाजिक उद्यमी महिला सहकारी संस्थाले सञ्चालनमा ल्याएको ‘चन्द्रसूर्य’ ब्रान्डको अर्गानिक बेसार उद्योग अहिले स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसम्म पुर्‍याउन सफल भएको छ।

सहकारीकी अध्यक्ष मधुमाया गुरुङका अनुसार महिलाले सुरुआती दिनमा ओखलमा बेसार पिसेर टाउकोमा बोकेर गाउँ–गाउँ र बजारमा बिक्री गर्ने गर्थे। लामो सङ्घर्ष र सामूहिक प्रयासपछि अहिले आफ्नै प्रशोधन उद्योग स्थापना गरी राष्ट्रिय ब्रान्डका रूपमा ‘चन्द्रसूर्य’ बेसार बजारमा ल्याउन सफल भएको उहाँले बताउनुभयो।

यस वर्ष सहकारीले करिब ७० टन बेसार सङ्कलन गरी प्रशोधन गरेको छ। आफ्ना सदस्य किसानसँगै अन्य तीन सहकारीमा आबद्ध किसानबाट पनि बेसार खरिद गरेर प्रशोधन गर्ने व्यवस्था मिलाइएको सहकारीले जनाएको छ।

हाल ‘चन्द्रसूर्य’ ब्रान्डको अर्गानिक बेसार चितवन, पोखरा र काठमाडौँमा बिक्री भइरहेको छ। उद्योगले निकट भविष्यमा अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्ने लक्ष्य लिएको छ। भरतपुर–२९, कालिका, इच्छाकामना, तनहुँको देवघाट र नवलपुरमा उत्पादन भएको बेसार उद्योगमा प्रशोधन गरिँदै आएको छ।

सहकारीकी सचिव निर्जला गुरुङका अनुसार बाँदरलगायत वन्यजन्तुले अन्य बालीमा क्षति पुर्‍याउने क्षेत्रमा किसानले बेसार खेतीबाट राम्रो आम्दानी गरिरहेका छन्। उहाँले सामूहिकता, निरन्तरता र आत्मविश्वासका साथ ग्रामीण महिलाले पनि ठूला उद्योग सफलतापूर्वक सञ्चालन गर्न सक्ने उदाहरण आफूहरूले प्रस्तुत गरेको बताउनुभयो।

केही दिनअघि उद्योगको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महिलाको नेतृत्वमा सञ्चालित सहकारीले स्थानीय उत्पादनमा मूल्य अभिवृद्धि गर्दै ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

मुख्यमन्त्री बानियाँले बेसार, अदुवा, प्याज र लसुनजस्ता नगदेबालीको उत्पादन विस्तार प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै महिला सहकारीद्वारा सञ्चालित उद्योगलाई प्रदेश सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 
सम्बन्धित समाचार