रासायनिक मलको सबैभन्दा धेरै आयात, साउनदेखि नयाँ खेप आउँदै : मन्त्री चौधरी

1.2k Shares

भरतपुर । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चालु आर्थिक वर्षमा विगतका वर्षको तुलनामा सबैभन्दा धेरै रासायनिक मल आयात गरिएको बताउँदै किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार निरन्तर प्रयासरत रहेको बताउनुभएको छ।

चितवनको खैरहनीमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले रोपाइँअघि नै किसानलाई मल उपलब्ध गराउने लक्ष्य रहे पनि केही प्राविधिक तथा आपूर्ति व्यवस्थापनसम्बन्धी समस्याका कारण त्यसमा ढिलाइ भएको स्वीकार गर्नुभयो।

उहाँका अनुसार सरकारले सहज रूपमा मल आयात गर्न सकिने देशको खोजी गर्दै निरन्तर काम गरिरहेको छ। साउन १ गतेदेखि नयाँ खेपको रासायनिक मल आयात सुरु हुने र त्यसका लागि मल बन्दरगाहमा पुगिसकेको उहाँले जानकारी दिनुभयो।

मन्त्री चौधरीले आगामी दिनमा निश्चित कार्यतालिका (क्यालेन्डर) बनाएर देशभर व्यवस्थित रूपमा मल वितरण गरिने बताउँदै स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारबीचको समन्वयलाई थप प्रभावकारी बनाइने उल्लेख गर्नुभयो।

रासायनिक मलको माग र आपूर्तिबीच अझै सन्तुलन कायम गर्न चुनौती रहेको स्वीकार गर्दै उहाँले किसानका गुनासा र समस्याको तत्काल सम्बोधनका लागि सरकारले टोल–फ्री नम्बरसमेत सञ्चालनमा ल्याएको जानकारी दिनुभयो।

सरकारले चालु आर्थिक वर्षमा देशभर ५ लाख ५० हजार मेट्रिक टन रासायनिक मल पठाइसकेको उल्लेख गर्दै मन्त्री चौधरीले खेतीयोग्य क्षेत्र विस्तारसँगै रासायनिक मलको माग पनि तीव्र रूपमा बढिरहेको बताउनुभयो।

सम्बन्धित समाचार