काठमाडौं । अविरल वर्षापछि बागमती नदीमा आएको बाढीले कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ । सेन्टरभित्र पानी पसेपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू पुनः प्रभावित भएका छन् ।
डुबानका कारण अधिकांश घरायसी सामग्री, लत्ताकपडा, अन्नपात र औषधिसमेत पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन् । सुरक्षाकर्मीले डुङ्गाको सहायताले केही सामान सुरक्षित स्थानमा सारे पनि धेरै सामग्री जोगाउन नसकिएको उनीहरूको भनाइ छ ।
सरकारले केही महिनाअघि विष्णुमती नदी किनारबाट हटाइएका सुकुम्बासीलाई उक्त होल्डिङ सेन्टरमा राखेको थियो। तर, स्थायी व्यवस्थापन हुन नसकेको र अहिले सेन्टरसमेत छोड्न दबाब दिइएको उनीहरूको गुनासो छ । अन्यत्र बसोबासको विकल्प नभएकाले सेन्टर छोड्न नसकेको र दाताबाट हुने खाद्यान्न सहयोगसमेत घटेपछि डुबानले उनीहरू थप समस्यामा परेका छन्।
पीडितहरूका अनुसार राति अचानक बाढी पस्दा धेरैले आफ्ना सामान सुरक्षित स्थानमा सार्ने अवसरसमेत पाएनन् । उनीहरूले सुरक्षाकर्मी राति करिब २ बजेपछि मात्रै घटनास्थल पुगेको गुनासो गरेका छन् ।

यता, गृह मन्त्रालयले भने राति १ः३८ बजे डुबानको सूचना प्राप्त हुनासाथ उद्धार टोली परिचालन गरिएको जनाएको छ। मन्त्रालयका अनुसार दंगा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब उपरीक्षक (डीएसपी)को नेतृत्वमा डिजास्टर व्यवस्थापनसहित ३० जना तथा नेपाल प्रहरीका थप ३० जनाको संयुक्त टोली परिचालन गरिएको थियो ।
उद्धार टोलीले होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनालाई उद्धार गरी त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरेको छ। अन्य ६ जना आफन्त वा नजिकैको होस्टलमा बस्न गएका छन् भने ९४ जना सेन्टरभित्रै पानी नपसेको सुरक्षित स्थानमा बसिरहेका छन् ।
गृह मन्त्रालयका अनुसार घटनास्थलमा सम्बन्धित निकाय र विषयगत क्लस्टरहरू परिचालित भई प्रभावित परिवारका लागि खाना, खानेपानी तथा अन्य आवश्यक राहत सामग्रीको व्यवस्था भइरहेको छ ।