दाउन्नेमा अब छैन घण्टौँको जाम, सडक विस्तार अन्तिम चरणमा पुग्दा यात्रा सहज
1.4k
Shares
नवलपरासी । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि दाउन्ने क्षेत्रमा यस वर्ष बर्खायाममा पनि सवारी आवागमन सहज बनेको छ। विगतमा सामान्य वर्षा हुँदा समेत घण्टौँसम्म जाम हुने यो खण्डमा अहिले सडकको अधिकांश भाग कालोपत्र भएपछि यात्रुले राहत महसुस गर्न थालेका छन् ।
गत वर्षसम्म वर्षा, सडक निर्माण, पहिरो पन्छाउने कार्य वा सवारीसाधन बिग्रिँदा दाउन्ने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो। बर्खा र हिउँद दुवै मौसममा हजारौँ यात्रुले सडकमै घण्टौँ बिताउनुपर्ने अवस्था थियो । तर यस वर्ष सडक विस्तारको काम अन्तिम चरणमा पुगेपछि यस्तो समस्या उल्लेखनीय रूपमा घटेको छ ।
तथ्याङ्कअनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्रमा २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक सडक अवरुद्ध भएको थियो । यस वर्ष भने त्यस्तो अवस्था नदेखिएको स्थानीय प्रशासनले जनाएको छ ।
नियमित रूपमा यही सडक प्रयोग गर्ने चालक रामु भुसालले पहिले दाउन्ने पार गर्न घण्टौँ लाग्ने गरेको स्मरण गर्दै अहिले फराकिलो र कालोपत्र सडकका कारण यात्रा निकै सहज भएको बताए । उनका अनुसार अहिले यात्राको समय पनि उल्लेखनीय रूपमा घटेको छ ।
विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले दाउन्नेको समस्या राष्ट्रिय चिन्ताको विषय बनेको उल्लेख गर्दै सडक विस्तारको काम अन्तिम चरणमा पुगेपछि स्थानीय, व्यवसायी र यात्रुले प्रत्यक्ष राहत पाएको बताए । उनले यसले स्थानीय अर्थतन्त्र, पर्यटन र जनजीवनमा सकारात्मक प्रभाव पार्न थालेको पनि बताए ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार गत वर्ष सडक निर्माण र वर्षाका कारण पटक–पटक लामो जाम व्यवस्थापन गर्नुपरे पनि यस वर्ष सडकको अवस्था सुधारिएकाले सवारी सञ्चालन सहज भएको छ । प्रहरी र आयोजना कार्यालयबीचको समन्वयले पनि यातायात व्यवस्थापन प्रभावकारी बनेको उनले बताए ।
नारायणघाट–बुटवल सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी तथा इन्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डको भौतिक प्रगति ९२.३८ प्रतिशत पुगेको छ । मुख्य सडकको कालोपत्र र कङ्क्रिट ढलान सम्पन्न भइसकेको छ भने अहिले लेन मार्किङ, साइनबोर्ड, रेलिङ तथा सडक सुरक्षासम्बन्धी अन्य काम अन्तिम चरणमा छन् ।
एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार भइरहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गतको यो व्यस्त सडकखण्डमा अब निर्माणका कारण विगतजस्तो सवारी अवरोध हुने अवस्था धेरै हदसम्म अन्त्य भएको आयोजना कार्यालयले जनाएको छ ।