नगर प्रहरीसँग विवाददेखि गणेश नेपालीको मृत्यु र विरोध प्रदर्शनसम्म

1.1k Shares

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएपछि काठमाडौंका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ ।

आफन्त, समर्थक तथा विद्यार्थी संगठनहरूले घटनाको निष्पक्ष छानबिन र जिम्मेवारमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

घटनाअघि सार्वजनिक भएको भिडियोमा गणेश नेपाली र काठमाडौं महानगरपालिकाकी महिला नगर प्रहरीबीच मोटरसाइकलमा लगाइएको ह्वील लकको विषयलाई लिएर भनाभन भएको देखिन्छ ।

भिडियोमा नगर प्रहरीले निषेधित स्थानमा मोटरसाइकल रोकेकाले ह्वील लक लगाइएको बताएकी छन् भने गणेश नेपालीले आफू मोटरसाइकलमै बसिरहेको अवस्थामा किन लक लगाइयो भन्दै आपत्ति जनाएका छन्। दुवै पक्षबीच केहीबेर चर्काचर्की भएको भिडियो सार्वजनिक भएपछि घटनाले थप चर्चा पाएको छ।

गम्भीर जलन भएका नेपालीलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको थियो। थप उपचारका लागि भारत लैजाने तयारी भइरहेका बेला शुक्रबार उपचारकै क्रममा उनको निधन भएको हो।

निधनको खबर सार्वजनिक भएपछि वीर अस्पताल अगाडि आफन्त र समर्थकहरू भेला भएर प्रदर्शनमा उत्रिए। उनीहरूले घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्याय दिन माग गरे। अस्पताल परिसरमा केहीबेर सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो।

यस्तै, संयुक्त विद्यार्थी संगठनले माइतीघर मण्डलामा पनि विरोध प्रदर्शन गर्दै घटनाको सत्यतथ्य छानबिन गर्न, जिम्मेवारलाई कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्। प्रदर्शनका क्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल समेत भएको थियो।

यसैबीच सरकारले घटनाको छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ । घटनाको कारण, आत्मदाह प्रयाससम्म पुग्न बाध्य बनाउने परिस्थितिलगायत सबै पक्षको निष्पक्ष अनुसन्धानपछि मात्रै आधिकारिक निष्कर्ष आउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार