काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा गम्भीर रूपमा जलेका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ। साथै उनको थप तथा विशिष्टीकृत उपचारका लागि भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लैजाने तयारी गरिएको छ।
हाल वीर अस्पतालमा उपचाररत नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेकाले चिकित्सकको सिफारिसअनुसार थप उपचारका लागि भारत पठाउने प्रक्रिया अघि बढाइएको सरकारी स्रोतले जनाएको छ।
घाइतेको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री सुधन गुरुङ तथा प्रधानमन्त्री सचिवालयका सदस्यहरू बिहीबार वीर अस्पताल पुगेका थिए। उनीहरूले उपचारमा संलग्न चिकित्सकसँग भेटेर घाइतेको पछिल्लो स्वास्थ्य अवस्था र उपचारको प्रगतिबारे जानकारी लिएका थिए।
चिकित्सकसँगको परामर्शपछि बिरामीलाई तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी शीघ्र पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा गणेश नेपालीलाई थप उपचारका लागि भारत पठाउने प्रक्रिया अघि बढाइएको जनाइएको छ।