काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित चारवटा विधेयक प्रमाणीकरण गरेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ तथा ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ प्रमाणीकरण गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा बिहीबार राति जारी विज्ञप्तिअनुसार ती विधेयक संघीय संसदबाट पारित भएपछि प्रमाणीकरणका लागि सोही दिन राष्ट्रपति कार्यालयमा पेस गरिएका थिए।
राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै ती विधेयक अब ऐनका रूपमा कार्यान्वयनको बाटो खुलेको छ।
