काठमाडौंसहित देशभर वर्षा, केही ठाउँमा भारी पानी पर्ने चेतावनी

827 Shares

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ भने मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ रहेकाले वर्षाको गतिविधि बढेको हो।

महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज (शुक्रबार) देशभर अधिकांश स्थानमा बदली रहने अनुमान गरिएको छ। हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ।

यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेश र कोशी प्रदेशको तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

रातिको समयमा पनि देशभर अधिकांश स्थानमा बदली कायम रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जनसहित वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। तराईका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।

महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाएको छ। साथै मधेश प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

 
 
सम्बन्धित समाचार