बोस्टन । साविक विजेता फ्रान्स फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति बोस्टनस्थित जिलेट स्टेडियममा सम्पन्न क्वार्टरफाइनलमा मोरोक्कोलाई २–० ले पराजित गर्दै फ्रान्सले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
फ्रान्सको जितमा किलिएन एमबाप्पे र ओसमान डेम्बेलेले एक–एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेको थियो ।
खेलको ६०औँ मिनेटमा एमबाप्पेले डी–बक्सको बाहिरबाट गरेको शानदार कर्लिङ प्रहार गोलमा परिणत भएपछि फ्रान्सले अग्रता लिएको थियो। जारी विश्वकपमा एमबाप्पेको यो आठौँ गोल हो ।
त्यसको छ मिनेटपछि डेम्बेलेले व्यक्तिगत कौशल प्रदर्शन गर्दै अर्को गोल थपे । उनले मध्यभागबाट बल अघि बढाएर गरेको उत्कृष्ट फिनिसिङसँगै फ्रान्सले २–० को अग्रता बनायो, जुन अन्त्यसम्म कायम रह्यो
एमबाप्पेसँग पहिलो हाफमै गोल गर्ने अवसर पनि थियो । २८औँ मिनेटमा नोसैर मज्राउईले डी–बक्सभित्र उनलाई लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो। तर, भिएआरबाट निर्णय पुष्टि भएपछि लिइएको पेनाल्टीलाई मोरोक्कोका गोलरक्षक यासिन बोनोले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा टिकाइराखेका थिए ।
अफ्रिकी च्याम्पियन मोरोक्कोले अपेक्षाअनुसार प्रभाव जमाउन सकेन। खेलको ८३औँ मिनेटमा एजेटिन ओनाहीको फ्रिकिकलाई फ्रान्सका गोलरक्षक माइक माइन्नानले बचाएपछि मात्र मोरोक्कोले पहिलो पटक पोस्टतर्फ प्रभावकारी प्रहार गर्न सफल भएको थियो ।
यस जितसँगै फ्रान्सले सेमिफाइनलमा स्थान पक्का गरेको छ। अब फ्रान्सले स्पेन र बेल्जियमबीच हुने क्वार्टरफाइनलको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।