प्रतिफल आउने क्षेत्रमा मात्रै ऋण लगानी गर्छौं’ : अर्थमन्त्री वाग्ले
1.8k
Shares
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले प्रतिफल दिने र उत्पादनशील क्षेत्रमा मात्रै ऋण परिचालन गर्ने नीति लिएको बताएका छन् । विगतमा अनुत्पादक क्षेत्रमा ऋण लगानी गरिएकै कारण सार्वजनिक ऋणको भार बढ्दै गएको भन्दै उनले अब त्यस्तो अभ्यासलाई निरन्तरता नदिइने स्पष्ट पारे ।
बिहीबार राष्ट्रिय सभामा राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले पछिल्लो सात–आठ वर्षमा सार्वजनिक ऋण वार्षिक औसत १८ प्रतिशतका दरले बढेको उल्लेख गरे ।
उनले ऋण लिनु आफैंमा गलत नभएको बताउँदै उत्पादनशील र प्रतिफलमुखी क्षेत्रमा लगानीका लागि लिइने ऋणले अर्थतन्त्रको आकार विस्तार गर्न सहयोग पुग्ने धारणा राखे । अर्थमन्त्रीका अनुसार आगामी आर्थिक वर्षमा सरकारले करिब ६ खर्ब ५७ अर्ब रुपैयाँ ऋण उठाउने योजना बनाएको छ । त्यसमध्ये ठूलो हिस्सा पुरानो ऋणको साँवा भुक्तानीमै खर्च हुनेछ ।
सरकारले ४१० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ, जसमध्ये २४६ अर्ब रुपैयाँ पुरानो आन्तरिक ऋण तिर्न प्रयोग गरिनेछ। त्यस्तै २४७ अर्ब रुपैयाँ वैदेशिक ऋण लिइने र ७२ अर्ब रुपैयाँ वैदेशिक ऋणको साँवा भुक्तानी गरिने उनले जानकारी दिए ।
वाग्लेले वर्तमान सरकार गठन हुँदा कुल सार्वजनिक ऋण करिब ३० खर्ब रुपैयाँ रहेको र आगामी वर्षसम्म यो ३३ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको बताए । यद्यपि, अर्थतन्त्रको आकार पनि हालको ६६ खर्ब रुपैयाँबाट ७४ खर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिइएकाले ऋण–जिडिपी अनुपात स्थिर रहने उनको दाबी छ ।
उनले राजस्वबाट मात्रै मुलुकको सबै खर्च धान्न सम्भव नभएकाले आवश्यक क्षेत्रमा ऋण लिनु अपरिहार्य रहेको बताए । साथै कर बढाएको र ऋण लिएको दुवै विषयमा एकैसाथ आलोचना नगर्न सांसदहरूलाई आग्रह गरे ।
अर्थमन्त्री वाग्लेले हालै एसियाली विकास बैंक (एडिबी) सँग दुई महत्वपूर्ण परियोजनाका लागि करिब २५ अर्ब रुपैयाँ बराबरको ऋण सम्झौता भएको पनि जानकारी दिए । उक्त ऋण एकीकृत खानेपानी तथा ढल व्यवस्थापन तथा भन्सार र आपूर्ति व्यवस्थापन परियोजनामा खर्च गरिने उनले बताए ।