गण्डकीमा औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेती वैधानिक, प्रदेशसभाबाट विधेयक पारित

1.4k Shares

पोखरा । गण्डकी प्रदेशसभाले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्ने कानुनी आधार तयार गरेको छ । प्रदेशसभाले बिहीबार ‘औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती (नियमन तथा व्यवस्थापन) विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेसँगै प्रदेशमा निश्चित मापदण्डभित्र रहेर गाँजा खेती गर्न सकिने बाटो खुलेको हो।

प्रदेशसभाको दशौं अधिवेशनअन्तर्गत भएको २१औँ बैठकमा सभामुख कृष्णप्रसाद धितालले विधेयक सर्वसम्मत रूपमा पारित भएको घोषणा गरेका हुन् । यसअघि प्रदेशसभा अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले विधेयकसम्बन्धी प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । त्यसपछि उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेकी थिइन् ।

विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य अशोक श्रेष्ठ, गणेशमान गुरुङ, सुशीला सिम्खडा र बिन्दु पौडेलले आफ्ना धारणा राखेका थिए । पारित विधेयकले गाँजा खेतीका लागि कडा मापदण्ड निर्धारण गरेको छ। गाँजाको बोटमा हुने नशालु तत्व टिएचसी को मात्रा ०.३ प्रतिशतभन्दा कम हुनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै, औषधि उत्पादन, अध्ययन–अनुसन्धान तथा निकासीका लागि गरिने गाँजा खेती प्रदेश सरकारको प्रत्यक्ष नियमन र नियन्त्रणमा रहनेछ। सरकारले तोकेको क्षेत्रभित्र मात्र यस्तो खेती गर्न पाइने व्यवस्था विधेयकमा समेटिएको छ ।

गाँजा खेती गर्न इच्छुक व्यक्ति वा संस्थाले अनिवार्य रूपमा सरकारी अनुमति लिनुपर्नेछ । खेती गरिने जग्गाको क्षेत्रफल, पूर्वस्वीकृति तथा अन्य आवश्यक मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

त्यसैगरी, गाँजाको बोट कटान वा बिक्री गर्नुअघि रासायनिक परीक्षण अनिवार्य गरिएको छ । परीक्षणका लागि प्रदेश सरकारले आफ्नै वा निजी क्षेत्रसँगको साझेदारीमा प्रयोगशाला स्थापना गर्ने व्यवस्था पनि विधेयकमा उल्लेख छ ।

विधेयकले गाँजाको औषधीय प्रयोगबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि उपचार केन्द्र सञ्चालन, दुरुपयोग गर्नेमाथि कानुनी कारबाही तथा पुनःस्थापना केन्द्र सञ्चालन गर्ने जिम्मेवारी पनि प्रदेश सरकारलाई दिएको छ ।

उक्त विधेयक २०८२ कात्तिक २८ गते प्रदेशसभा समितिमा पठाइएको थियो। त्यसपछि ११ वटा बैठकमा विस्तृत छलफल गरी अन्ततः प्रदेशसभाबाट सर्वसम्मत रूपमा पारित गरिएको हो ।

 
 
सम्बन्धित समाचार