अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग प्रधानमन्त्रीको संवाद सुरु

1.6k Shares

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र सुधार र निजी क्षेत्रको विश्वास पुनःस्थापित गर्ने उद्देश्यसहित उद्योगी–व्यवसायीसँग औपचारिक संवाद सुरु गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित छलफलमा निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिसँग अर्थतन्त्रका वर्तमान चुनौती, लगानी विस्तार तथा उद्योग–व्यवसाय सञ्चालनमा देखिएका समस्याबारे विस्तृत छलफल भएको हो ।

सरकार गठन भएको तीन महिनापछि पहिलोपटक प्रधानमन्त्रीले निजी क्षेत्रका प्रतिनिधिलाई औपचारिक रूपमा बोलाएर छलफल गरेपछि उद्योगी–व्यवसायीले यसलाई सकारात्मक संकेतका रूपमा लिएका छन् । पछिल्लो समय उद्योगी–व्यवसायीमाथि भएको धरपकड र सरकारसँग संवादको अभावका कारण निजी क्षेत्र अन्योलमा रहेको अवस्थामा यो भेटलाई विश्वास निर्माणतर्फको कदमका रूपमा हेरिएको छ ।

प्रधानमन्त्रीले मुलुकको आर्थिक गतिविधिलाई गति दिन, लगानीमैत्री वातावरण निर्माण गर्न तथा उद्योग–व्यवसाय सञ्चालन सहज बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

उनले निजी क्षेत्रलाई आर्थिक विकास, उत्पादन वृद्धि र रोजगारी सिर्जनाको प्रमुख साझेदारका रूपमा सरकारले हेरेको उल्लेख गर्दै व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधानका लागि आवश्यक नीतिगत, कानुनी तथा प्रशासनिक सुधार अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिले नीतिगत स्थायित्व, लगानीको सुरक्षा, प्रशासनिक झन्झट हटाउने तथा व्यवसायमैत्री वातावरण निर्माणमा सरकारको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखेका थिए । उनीहरूले सरकार र निजी क्षेत्रबीच नियमित संवाद कायम रहे अर्थतन्त्रमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरेका छन् ।

सरकारले आगामी आर्थिक वर्षमा लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको निष्कर्षसहित प्रधानमन्त्रीले आगामी दिनमा पनि यस्ता संवादलाई निरन्तरता दिने संकेत दिएका छन् ।

सम्बन्धित समाचार