अटलान्टा । २०२६ फिफा विश्वकपको अन्तिम–१६ बाट बाहिरिएपछि इजिप्टले खेल सञ्चालन गर्ने रेफ्री टोलीविरुद्ध अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) समक्ष औपचारिक उजुरी दर्ता गरेको छ। अर्जेन्टिनासँग ३–२ ले पराजित भएपछि इजिप्ट फुटबल संघले रेफ्रीको निर्णयले खेलको नतिजामा प्रत्यक्ष असर परेको दाबी गर्दै छानबिन र सम्बन्धित अधिकारीलाई प्रतियोगिताबाट हटाउन माग गरेको हो।
इजिप्ट फुटबल संघले फ्रान्सेली रेफ्री फ्रान्कोइस लेटेक्सियर तथा भिडियो सहायक रेफ्री (भीएआर) टोलीबाट गम्भीर त्रुटि भएको आरोप लगाएको छ। संघका अनुसार खेलका महत्वपूर्ण क्षणमा भएका निर्णय निष्पक्ष नरहेको भन्दै त्यसको स्वतन्त्र अनुसन्धान हुनुपर्ने माग गरिएको छ।
खेलमा इजिप्ट १–० ले अगाडि रहेका बेला मोस्ताफा जिकोले गरेको गोल भीएआरको सिफारिसपछि अमान्य घोषित गरिएको थियो। रेफ्रीले गोलअघि अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजमाथि फाउल भएको निष्कर्ष निकाल्दै आफ्नो प्रारम्भिक निर्णय परिवर्तन गरेका थिए।
इजिप्टले अर्जेन्टिनाका एन्जो फर्नान्डेजले निर्णायक गोल गर्नुअघि एलेक्सिस म्याक एलिस्टरले हम्दी फाथीमाथि फाउल गरेको दाबी गर्दै आफूहरूले पेनाल्टी पाउनुपर्ने जनाएको छ। साथै, उक्त घटनासँग सम्बन्धित केही भिडियो फुटेज समीक्षा गर्न नदिइएको आरोप पनि संघले लगाएको छ।
इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले पनि खेलपछि रेफ्रीको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै आफ्नो टोली अन्यायमा परेको प्रतिक्रिया दिएका छन्। विश्वकपबाट बाहिरिएपछि इजिप्टले फिफासँग उक्त खेलका विवादास्पद निर्णयहरूको निष्पक्ष समीक्षा गर्न आग्रह गरेको छ।