नक्कली भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान गर्न नारायणकाजीको सरकारलाई आग्रह

1.7k Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतले मुख्य आरोपितहरूलाई दोषी ठहर गरेपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ नेता तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले घटनासँग जोडिएका अन्य शंकास्पद व्यक्तिमाथि पनि थप अनुसन्धान अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै श्रेष्ठले आफू उपप्रधान तथा गृहमन्त्री रहेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गम्भीर अनुसन्धान गरी मुद्दा दायर गरेको स्मरण गराए। अदालतले मुख्य दोषीहरूलाई दोषी ठहर गरेको निर्णयले राष्ट्रको छवि धुमिल बनाएको घटनाको टुंगो लगाउने दिशामा महत्वपूर्ण कदम भएको भन्दै उनले त्यसप्रति सन्तोष व्यक्त गरे।

श्रेष्ठका अनुसार मुद्दा दायर गर्दा अनुसन्धानबाट पुष्टि भएका व्यक्तिविरुद्ध मात्रै अभियोग लगाइएको थियो। कानुनी समयसीमाका कारण त्यसबेला प्रमाण पुगेका व्यक्तिलाई मात्रै मुद्दा चलाइएको र अन्य शंकास्पद व्यक्तिका हकमा थप अनुसन्धानको ढोका खुला नै राखिएको उनले बताए।

उनले घटनामा जोडिएका अन्य व्यक्तिमाथि पनि सम्बन्धित निकायमार्फत निष्पक्ष र गहन अनुसन्धान अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्। सत्यतथ्य बाहिर ल्याएर सबै दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने उनको जोड छ।

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न अभियुक्तलाई राज्यविरुद्धको अपराध, संगठित अपराध, ठगी र किर्ते कसुरमा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार २९ गतेको मिति तोकेको छ।

सम्बन्धित समाचार