निजामती कर्मचारी अस्पतालका आठ जनाविरुद्ध २ करोड ९१ लाखको भ्रष्टाचार मुद्दा

1.3k Shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरको फार्मेसी युनिटमा कार्यरत आठ जनाविरुद्ध दुई करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी अधिकृत दिपा ढुङ्गाना, फार्मेसी सहायक लबेन्द्र कुँवर, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दिपक सापकोटा, वरिष्ठ फार्मेसी सहायक विनोद पोखरेल र शर्मीला श्रेष्ठ तथा फार्मेसी सहायक केशवराज न्यौपाने र सन्दीप तिवारीविरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार आरोपपत्र दायर गरिएको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अस्पतालको फार्मेसीमा रहेका म्याद सकिएका तथा म्याद सकिन लागेका औषधि आपूर्तिकर्ता कम्पनीसँग भएको सम्झौताअनुसार फिर्ता गर्नुपर्नेमा त्यसो नगरी सार्वजनिक सम्पत्तिको हिनामिना गरी राज्यलाई हानि–नोक्सानी पुर्‍याएको आरोप उनीहरूमाथि लागेको छ।

आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर कायम गर्दै बिगो बराबर दुई करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ असुल, कैद तथा जरिवानाको मागसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ।

सम्बन्धित समाचार