गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त

1.1k Shares

काठमाडौँ । सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् ।

बैठकले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । यस्तै, कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न सरकारले स्वीकृति दिएको छ । यस निर्णयसँगै गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने कानुनी प्रक्रिया अघि बढ्ने भएको छ ।

मन्त्रिपरिषद्ले शिक्षा क्षेत्रसँग सम्बन्धित दुई महत्वपूर्ण नियमावलीसमेत स्वीकृत गरेको छ। बैठकले ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन तथा नियमन नियमावली, २०८३’ र ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३’ पारित गरेको हो । साथै ‘कारागार नियमावली, २०८३’ लाई पनि स्वीकृति प्रदान गरिएको छ ।

त्यसैगरी बैठकले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना तथा भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना स्वीकृत गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचार