एनपीएल अक्सनपछि आठै टोलीको टिम पूरा, आसिफ शेख बने सबैभन्दा महँगा खेलाडी

1.6k Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को खेलाडी अक्सनपछि आठै फ्रेन्चाइज टोलीले आफ्नो घरेलु टोलीलाई अन्तिम रूप दिएका छन्। सोमबार काठमाडौंमा सम्पन्न मिनी अक्सनबाट १५५ खेलाडीमध्ये ५२ खेलाडी विभिन्न आठ टोलीमा अनुबन्ध भएका हुन्।

अक्सनमा राष्ट्रिय टोलीका विकेटकिपर–ब्याटर आसिफ शेख सबैभन्दा महँगा खेलाडी बने। उनलाई अनुबन्ध गर्न सात टोलीबीच प्रतिस्पर्धा भएपछि लक्की ड्रमार्फत लुम्बिनी लायन्सले २० लाख रुपैयाँमा आफ्नो टोलीमा भित्रायो।

घाइतेका कारण अघिल्लो संस्करण गुमाएका विवेककुमार यादव, रुपेशकुमार सिंह, तिर्थराज दास र अर्जुन घर्ती अधिकतम १५ लाख रुपैयाँमा अनुबन्ध भए। विवेक चितवन राइनोज, रुपेश विराटनगर किङ्स, तिर्थराज जनकपुर बोल्ट्स र अर्जुन घर्ती पोखरा एभेन्जर्समा आबद्ध भए।

यस्तै, दोस्रो संस्करणको च्याम्पियन लुम्बिनीले आसिफसँगै किशोर महतो, दुर्गेश गुप्ता, आकाश त्रिपाठी, अजय चौहान र अर्निको प्रसाद यादवलाई टोलीमा थपेको छ। उपविजेता सुदूरपश्चिम रोयल्सले दीपक बोहरा, अनिल खरेल, मिलन बोहरा, टेक रावत, सचिन भट्ट र आयुभ चन्दलाई अनुबन्ध गरेको छ।

विराटनगर किङ्सले रुपेशकुमार सिंहसहित सात, जनकपुर बोल्ट्सले आठ, चितवन राइनोजले छ, काठमाडौं गोर्खाजले सात, पोखरा एभेन्जर्सले छ तथा कर्णाली याक्सले छ खेलाडी अक्सनमार्फत टोलीमा थपेका छन्।

यसपटक सुनिल धमला, शंकर राना, भुवन कार्की, नरेन भट्ट र दीपेश कँडेलजस्ता चर्चित खेलाडी भने अक्सनमा बिक्न सकेनन्।

सम्बन्धित समाचार